गरिमाले बोलायो साधारण सभा, १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित गर्ने
सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
काठमाडौं । गरिमा विकास बैंकले आगामी असोज २६ गते आफ्नो बीसौँ वार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न बैंकले साधारण सभा बोलाएको हो । सभा होटल पोखरा ग्राण्ड, पोखरामा आयोजना हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा सोसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
