रसुवा बाढी पीडितलाई कृषि विकास बैंकका कर्मचारीको १ करोड ५३ लाख सहयोग
भोटेकोशि नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।
काठमाडौं । भोटेकोशि नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीहरूले आफ्नो तलब-भत्ताबाट रकम जुटाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष टंक प्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले नेपाल सरकारका अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाईं, मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमालको समेत उपस्थिति रहेको थियो ।
यसअघि पनि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड योगदान गरिसकेको छ भने बाढीपीडितहरूका लागि १० लाख बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा हस्तान्तरण गरिसकेको छ ।
देशमा आइपर्ने प्राकृतिक विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सघाउ पुर्याउने उद्देश्यले बैंक संस्थागत रूपमा र कर्मचारीहरू व्यक्तिगत स्तरबाट निरन्तर सहयोगमा जुटेका हुन् ।
