कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने
नागढुङ्गा-मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीकाअनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ ।
काठमाडौं । त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीकाअनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ ।
अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनकाअनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो ।
शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उनले बताए । ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ ।
नयाँ ट्रयाकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप दुई-तीन दिन लाग्ने अधिकारीले बताए । त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।
त्रिशूली बाढीपछि गएको पहिरो तथा सडक भासिएपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरी यातायात सुचारु गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ ।
