माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव, बाेनस र लाभांश कति ?
बैंकका अनुसार प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । सञ्चालक समितिको भदौ २६ गते अपराह्न बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीहरूका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ०४१ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ । बैंकले यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका निकायहरूलाई गराइसकेको छ ।
