सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्: आशिका तामाङ

विज्ञापन
ncell

उनले थपिन्, ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्‍यो । होइन भने महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ ।’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ग्यासको आपूर्ति र बिक्री वितरणमा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले बजारमा ग्यास रहेको भनिए पनि पसलेले बिक्री गर्न नमानेको भन्दै आफूलाई दैनिकजसो नागरिकबाट गुनासो आउने गरेको बताइन् ।

उनले सरकारभन्दा शक्तिशाली कुनै बिचौलिया वा माफिया समूह रहेको हो कि भन्ने प्रश्नसमेत गरिन् । बजारमा ग्यास देखिने तर उपभोक्ताले खरिद गर्न नपाउने अवस्थाले सरकारको भूमिका माथि नै प्रश्न उठाएको उनको भनाइ थियो । ‘ग्यास पसलमा देखिन्छ, तर उपभोक्ताले किन्न पाउँदैनन् । यस्तो अवस्था किन आयो ? सरकारभन्दा ठूलो शक्ति वा माफिया यो देशमा कोही छ ?’ भन्दै उनले प्रश्न गरिन् ।

सांसद तामाङले ग्यासको अभावका कारण सर्वसाधारणले पसलमा पुगेर पनि खाली हात फर्किनुपर्ने अवस्था सिर्जना भएको भन्दै सरकारको आलोचना गरिन् । जनताले सरकारलाई काम गर्नकै लागि ठूलो जनमत दिएको स्मरण गराउँदै उनले जनताको आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्था आउन नहुने बताइन् ।

उनले थपिन्, ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्‍यो । होइन भने महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ ।’

सांसद तामाङले ग्यासको समस्यालाई समाधान गर्न नसक्ने हो भने पटक-पटक मन्त्री परिवर्तन गर्नुको कुनै अर्थ नरहने टिप्पणीसमेत गरिन् । ग्यासको समस्या समाधान नभए ग्यासको लाइनभन्दा मन्त्री बन्नेहरूको लाइन लामो हुने अवस्था आउन सक्ने भन्दै उनले सरकारप्रति व्यंग्य गरिन् ।