२२ वर्षमा २५५ बैंक तथा वित्तीय संस्था मर्जरमा, १९९ को अस्तित्व समाप्त

विज्ञापन
ncell

राष्ट्र बैंकका अनुसार वि.सं. २०६१ देखि २०८३ सम्मको २२ वर्षको अवधिमा वाणिज्य बैंकतर्फ मात्रै १२८ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा सहभागी भएका छन् ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबीच भएका मर्जर तथा एक्विजिसन (एमएन्डए) को विस्तृत विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई चार वर्गमा विभाजन गरी मर्जर तथा एक्विजिसनबाट बनेका संस्थाहरूको विवरण सार्वजनिक गरेको हो । जसअनुसार हालसम्म २५५ वटा बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएर ५६ वटा संस्था कायम भएका छन् । अर्थात्, मर्जर तथा एक्विजिसनपछि १९९ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै अस्तित्व समाप्त भएको छ ।

राष्ट्र बैंकका अनुसार वि.सं. २०६१ देखि २०८३ सम्मको २२ वर्षको अवधिमा वाणिज्य बैंकतर्फ मात्रै १२८ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा सहभागी भएका छन् । तीमध्ये ११३ वटा संस्थाको अस्तित्व समाप्त भएर हालका १५ वाणिज्य बैंक बनेका छन् भने ५ वटा वाणिज्य बैंक भने मर्जरमा गएका छैनन् ।

विकास बैंकतर्फ ३६ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा सहभागी भएर ९ वटा विकास बैंक बनेका छन् । त्यस्तै, फाइनान्स कम्पनीतर्फ १६ वटा संस्था गाभिएर ७ वटा फाइनान्स कम्पनी कायम भएका छन् ।

लघुवित्त क्षेत्रमा भने मर्जरको प्रभाव अझ ठूलो देखिएको छ । यस अवधिमा ७५ वटा लघुवित्त संस्था एकआपसमा गाभिएर २५ वटा लघुवित्त संस्था बनेका छन् ।

बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले राष्ट्र बैंकले लामो समयदेखि मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गर्दै आएको छ । कुनै समय वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले धमाधम लाइसेन्स दिइएपछि बैंक तथा वित्तीय संस्थाको संख्या अत्यधिक बढेको थियो । त्यसपछि संस्था धेरै हुँदा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकले स्वेच्छिक मर्जरलाई प्रोत्साहन गर्ने तथा आवश्यकताअनुसार दबाब दिने नीति अवलम्बन गरेको थियो ।

मर्जरको यो यात्रा वि.सं. २०६१ मा लक्ष्मी बैंकले हाइसेफ फाइनान्सलाई गाभेर एकीकृत कारोबार गरेसँगै सुरु भएको थियो । त्यसयता २२ वर्षको अवधिमा २५५ वटा बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् ।

हाल सञ्चालनमा रहेका बैंकमध्ये सबैभन्दा धेरै संस्था गाभ्ने बैंकमा ग्लोबल आईएमई र कुमारी बैंक अगाडि देखिएका छन् ।

ग्लोबल आईएमई बैंकमा कमर्ज एन्ड ट्रस्ट बैंक, जनता बैंक नेपाल र बैंक अफ काठमाण्डू गरी ३ वटा वाणिज्य बैंक गाभिएका छन् । त्यस्तै प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंकलगायत विकास बैंक तथा विभिन्न फाइनान्स कम्पनी पनि ग्लोबल आईएमईमा समाहित भएका छन् । हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमईमा गाभिएका छन् ।

कुमारी बैंकमा सिभिल बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक गाभिएका छन् । यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक, देव विकास बैंक, एनडीईपी डेभलपमेन्ट बैंक, राइजिङ डेभलपमेन्ट बैंक, साझा विकास बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, अन्नपूर्ण डेभलपमेन्ट बैंक, रारा विकास बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलगायत संस्था पनि कुमारी बैंकमा गाभिएका छन् । विभिन्न फाइनान्स तथा लघुवित्त संस्था समेत जोड्दा कुमारी बैंकमा हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था समाहित भएका छन् ।

नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभिएको छ भने नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स र युनाइटेड फाइनान्ससमेत नबिलमा समाहित भएका छन् ।

प्रभु बैंकमा सेन्चुरी कमर्सियल बैंक, किष्ट बैंक र ग्राण्ड बैंक नेपालजस्ता वाणिज्य बैंक गाभिएका छन् । विकास बैंकतर्फ समृद्धि विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, सूर्य डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र गौरीशंकर डेभलपमेन्ट बैंकलगायत संस्था गाभिएका छन् । विभिन्न फाइनान्स कम्पनीसमेत जोडिँदा प्रभु बैंकमा हालसम्म १४ वटा संस्था मर्जर तथा एक्विजिसनमा सहभागी भएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरबाट बनेको हो । यसमा विश्व विकास बैंक, गण्डकी विकास बैंक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, मातृभूमि विकास बैंक, कालिन्चोक डेभलपमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकलगायत ७ वटा विकास बैंक गाभिएका छन् । जेबिल फाइनान्स, सिटी एक्सप्रेस फाइनान्सलगायत फाइनान्स कम्पनी पनि यसमा समाहित भएका छन् ।

यससँगै हिमालयन बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायतले पनि विभिन्न चरणमा मर्जर तथा एक्विजिसन गरेका छन् ।

प्रकाशन भएका दस्तावेजहरू

6aa3af0fd76b8_1789112079.pdf