हिमालयले चेतावनी दिइसक्यो, अब रियल टाइम मोनिटरिङ गरौँ: विदुषी राणा

विज्ञापन
ncell

उनले विश्वव्यापी जलवायु परिवर्तनको कारण हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएको भन्दै हिमनदी र हिमालको संरक्षण तथा निगरानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदिको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले विश्वव्यापी जलवायु परिवर्तनको कारण हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएको भन्दै हिमनदी र हिमालको संरक्षण तथा निगरानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । 

उनले रसुवाको भोटेकोशीमा आएको बाढी विपद्को एउटा घटना मात्र नभई हिमालयले दिएको चेतावनी भएको बताइन् ।

सांसद राणाले वैज्ञानिक अध्ययनअनुसार हिन्दुकुश हिमालयमा सन् २००० यता हिमनदी पग्लिने गति झन्डै दोब्बर भएको र हालकै उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको आयतन ८० प्रतिशतसम्म गुम्न सक्ने चेतावनी दिइन्।

उनले भनिन्, ‘रसुवाको विनाशकारी बाढी केवल एउटा दुर्घटना होइन । यो हिमालयले हामीलाई दिएको एउटा चेतावनी हो । वैज्ञानिक अध्ययनले हिन्दुकुश हिमालयमा सन् २००० यता हिमनदी पग्लिने गति झणडै दोब्बर भएको र अहिलेको उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदिको आयतन ८० प्रतिशतसम्म गुम्नसक्ने चेतावनी दिएको छ । तर विडम्भना विश्वको ग्रीन हाउस क्षति हुनुमा नेपालको योगदान ० दशमलव १ प्रतिशत मात्रै छ । तर त्यसको मूल्य हामी जीवन, बस्ती र पूर्वाधारबाट तिरिरहेका छौँ । त्यसकार हिमनदि र हिमालहरुको रियल टाइम मोनिटरिङ, क्रस बोर्डर अर्ली वार्निङ सिस्टम र जलवायुअनुकूलन संरचना निर्माणलाई राष्ट्रि प्राथमिकता बनाऔँ ।’

 उनले सरकारले जलवायु न्यायको लागि कुटनीतिक पहल गर्नुपर्नेमा समेत जोड दिइन् ।