सरकारले बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने
उनका अनुसार दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएका विद्यार्थीलाई दोस्रो प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य विद्यार्थीलाई प्राथमिकता दिने सरकारको नीतिको नीति छ ।
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई आर्थिक तथा अभिभावकीय रुपमा वर्गीकरण गरी छात्रवृत्ति प्याकेज ल्याइने बताएका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित रसुवा बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने बताएका हुन्।
उनले बाढी प्रभावित पालिकाका विद्यार्थीलाई आवासीय सुविधा, विद्यालयमै आवासीय व्यवस्था तथा पूर्ण छात्रवृत्तिमार्फत सरकारले सहयोग प्रदान गर्ने बताए । उनका अनुसार दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएका विद्यार्थीलाई दोस्रो प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य विद्यार्थीलाई प्राथमिकता दिने सरकारको नीतिको नीति छ ।
उनले रसुवा, धादिङ र नुवाकोटमै रहेर अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई समेत सरकारले आवश्यक सहयोग गर्ने बताए । उहाँले बाढी प्रभावित क्षेत्रका विद्यार्थीको लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गर्ने तयारी भइरहेको समेत बताए ।
उनले छात्रवृत्ति योजनामा सरकारले बढीभन्दा बढी निजी क्षेत्रको सहयोग खोजिरहेको भन्दै छलफल र सुझाव दिन समेत उहाँले सबैमा आग्रह गरे ।
