कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान सुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
नागढुङ्गा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीकाअनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ । सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ ।
काठमाडौं । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा-मुग्लिङ सडक खण्ड अन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको कार्य सुरु गरिएको छ। बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीकाअनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ । सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ ।
नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्शाङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम औपचारिक रूपमा सुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिए । हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका लागि आवश्यक पूर्वतयारीलाई तिब्रता दिएका छन् ।