हिमालयन बुलियनले माग्यो २० वर्ष अनुभव भएको सीईओ
वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढीको चाँदी कारोबार गर्दै आएको हिमालयन बुलियनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
काठमाडौं । वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढीको चाँदी कारोबार गर्दै आएको हिमालयन बुलियनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै अनुभवी सीईओ वा प्रमुख व्यावसायिक अधिकृत (सीबीओ) पदका लागि दरखास्त माग गरेको हो ।
सुन तथा चाँदीको कारोबारमा संलग्न हिमालयन बुलियनमा व्यवसायी राकेश अडुकिया लगानीकर्ता रहेका छन् । कम्पनीले सीईओका लागि एमबीए वा पीजीडीएम उत्तीर्ण गरेको तथा बहुमूल्य धातुको व्यापारमा कम्तीमा २० वर्षको अनुभव भएको व्यक्ति खोजेको छ ।
बजार विश्लेषणमा दक्षता भएका तथा सरकारी मान्यता प्राप्त सम्बन्धित प्रमाणपत्र हासिल गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । व्यवसाय विस्तार, रणनीतिक योजना निर्माण तथा कार्यान्वयन, बिक्री व्यवस्थापन र शाखा विस्तारमा अनुभव भएको व्यक्ति आवश्यक रहेको सूचनामा उल्लेख छ ।
त्यस्तै ५० भन्दा बढी कर्मचारीको टोली व्यवस्थापन गर्न सक्ने, चाँदीको आयात–निर्यातसम्बन्धी पर्याप्त ज्ञान भएको र वरिष्ठ व्यवस्थापन तहमा काम गरेको अनुभवलाई अनिवार्य योग्यता बनाइएको छ ।
यसैबीच, हिमालयन बुलियनले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारीसमेत अघि बढाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरी १२ करोड ५० लाख रुपैयाँ पुँजी जुटाउने योजना बनाएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
