रास्वपा केन्द्रीय समिति बैठक सुरु, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्मका विषयमा छलफल हुने

विज्ञापन
ncell

बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी ‘रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्ने विषयलाई पनि एजेन्डामा राखिएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा सुरु भएको छ । वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका विभिन्न दस्तावेज, संगठन व्यवस्थापन, पदाधिकारी तथा सदस्य मनोनयन, आगामी योजना र अभियानका विषयमा छलफल भइरहेको छ ।

बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी ‘रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्ने विषयलाई पनि एजेन्डामा राखिएको छ ।

त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनबारे छलफल हुने बताइएको छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य चयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ ।

यसैगरी, स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत बैठकमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन् ।