अख्तियारको डरले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखियोः कानूनमन्त्री

विज्ञापन
ncell

मन्त्री गौतमले भ्रष्टाचार गर्नेहरू डराउनुपर्ने भएपनि वर्तमान अवस्थामा कर्मचारीतन्त्रले काम नगरिदिँदा सरकार कतिपय अवस्थामा ‘अनिर्णयको बन्दी’ बन्नुपरेको उल्लेख गरिन् ।

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ को समस्या देखिएको बताएकी छन् । 

बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासका कारण इमानदार कर्मचारीहरू समेत निर्णय लिन डराउने स्थिति सिर्जना भएको बताएकी हुन् । मन्त्री गौतमले भ्रष्टाचार गर्नेहरू डराउनुपर्ने भएपनि वर्तमान अवस्थामा कर्मचारीतन्त्रले काम नगरिदिँदा सरकार कतिपय अवस्थामा ‘अनिर्णयको बन्दी’ बन्नुपरेको उल्लेख गरिन् ।

आफ्नो मन्त्रालयको अनुभव सुनाउँदै मन्त्री गौतमले ऐनमा स्पष्ट रूपमा लेखिएका विषयमा पनि कर्मचारीहरूले अख्तियारको डरले राय दिन अप्ठ्यारो मानेको गुनासो गरिन् । अख्तियारले कुनै मन्त्रालयलाई दिएको सुझाव वा पत्राचारको प्रतिलिपिलाई आधार बनाएर कर्मचारीहरूले प्रचलित कानुनको व्याख्या गर्न समेत डराउने गरेको उनको भनाइ छ । 

निर्णय प्रक्रियामा हुने ढिलासुस्तीले अन्ततः जनतालाई नै घाटा हुने उनले तर्क गरिन् । उनले कर्मचारीतन्त्रमा देखिएको यो डरको वातावरण अन्त्य गरी प्रशासनिक संयन्त्रलाई गतिशील बनाउनु आवश्यक रहेकोमा जोड दिइन् ।