किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी

विज्ञापन
ncell

उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी) ले देशभरका करिब २ सय ३५ वटा दुग्ध सहकारीलाई दूध खरिदबापत ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध किसानलाई दूध खरिदबापतको भुक्तानी २५ दिनभित्र उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले भदौको अन्तिम सातासम्म दूधको भुक्तानी अवधि अधिकतम २५ दिनमा झार्ने गरी काम भइरहेको जानकारी दिइन् ।

उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी) ले देशभरका करिब २ सय ३५ वटा दुग्ध सहकारीलाई दूध खरिदबापत ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । विगतमा आठदेखि १० महिनासम्म पुगेको भुक्तानी अवधि अहिले केही सहकारीको तीन महिना र केहीको दुई महिनामा झारिएको उनले बताइन् ।

मन्त्री चौधरीले विगत दुई आर्थिक वर्षमा स्वाभाविक मागभन्दा बढी दूध संकलन गर्नुपरेका कारण बिक्री नभएको दूधलाई प्रशोधन गरी दूध पाउडर र नौनी उत्पादन गरिएको बताइन् । भदौ १ गतेसम्म डिडिसीसँग १ सय ५० मेट्रिक टन दूध पाउडर र १ सय ३० मेट्रिक टन नौनी गरी करिब २४ करोड रुपैयाँ बराबरको मौज्दात रहेको उनले जानकारी दिइन् ।