सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ

विज्ञापन
ncell

उनले भने, ‘नागरिकले ज्यान गुमाइरहेका छन्, घरबस्ती बगिरहेका छन् तर सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छ ।’ उनले सरकार विपद् व्यवस्थापनमा लाग्नुको साटो सत्ताको खिचातानी र सचिवालयको आन्तरिक काममा मात्र व्यस्त रहेको आरोप लगाए ।

काठमाडौं । मुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केरुङले देशभर फैलिएको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले जाजरकोट, बाजुरा, रोल्पा लगायतका जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरे । उनले प्रस्तुत गरेको तथ्याङ्कअनुसार २०८३ वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म देशभर ४ हजार ६८१ विपतका घटनाहरू भएका छन् । जसमा २ सय ४७ जनाले ज्यान गुमाएका छन् भने १५ जना अझै बेपत्ता छन् । सोही अवधिमा १ हजार ४६३ जना घाइते भएको र ५ हजार ७०९ परिवार प्रत्यक्ष प्रभावित भएको उहाँले सदनलाई जानकारी गराए ।  

विपदको यस्तो भयावह स्थितिमा पनि सरकार गम्भीर नभएको टिप्पणी गर्दै उनले भने, ‘नागरिकले ज्यान गुमाइरहेका छन्, घरबस्ती बगिरहेका छन् तर सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छ ।’ उनले सरकार विपद् व्यवस्थापनमा लाग्नुको साटो सत्ताको खिचातानी र सचिवालयको आन्तरिक काममा मात्र व्यस्त रहेको आरोप लगाए ।

सांसद केरुङले सुकुम्बासी बस्तीमाथि राज्यले चरम लापरबाही गरेको र भक्तपुरको होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधले आत्महत्या गरेको घटनाले सरकारको संवेदनहीनता पुष्टि गरेको बताए । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले प्रहार गरिरहेको भन्दै उनले भत्र्सना गरे । पत्रकारलाई धम्क्याउने, सिंहदरबार प्रवेशमा कडाइ गर्ने र सञ्चार गृहमा तोडफोड गर्ने जस्ता कार्यले लोकतन्त्रको उपहास गरेको उनको ठहर छ ।