नागरिकको विवरण नागरिककै झोलामा खोज्ने यो कस्तो डिजिटल सरकार होः सांसद कार्की
उनले राज्यसँग नागरिकको विवरण हुँदाहुँदै पनि सरकारी कार्यालयमा पटक-पटक कागजात मागिनु डिजिटल शासनको प्रभावकारिताको प्रश्न भएको बताए ।
काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले परिचय र कागजात प्रमाणित गर्नुपर्ने झन्झटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राज्यसँग नागरिकको विवरण हुँदाहुँदै पनि सरकारी कार्यालयमा पटक-पटक कागजात मागिनु डिजिटल शासनको प्रभावकारिताको प्रश्न भएको बताए । सरकारलाई आफ्नै नागरिक चिन्नको लागि यति धेरै कागज किन चाहिन्छ? उनले प्रश्न गरे ।
सांसद कार्कीले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रजस्ता विभिन्न परिचयपत्र हुँदाहुँदै सरकारी कार्यालयमा हरेकपटक थप प्रमाण खोज्ने प्रवृत्तिले नागरिकलाई अनावश्यक झन्झट दिएको बताए । उनले यो कस्तो डिजिटल सरकार हो जहाँ नागरिकको विवरण कम्प्युटरमा होइन नागरिककै झोलामा खोजिन्छ ? भन्दै प्रश्न गरे ।
उनले सरकारी कार्यालयमा सेवा लिन जाँदा नागरिकले आवश्यकताभन्दा बढी कागजात बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य गरी एकीकृत डिजिटल प्रणालीमार्फत सेवा प्रवाह सरल बनाउन सरकारको ध्यानाकर्षण गराए ।
