बीमा कोषलाई बलियो बनाउँदै आईजीआई प्रुडेन्सियल, व्यवसाय बृद्धि हुँदा अरु सूचक कस्ता ?

विज्ञापन
ncell

खासगरि गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र विनासकारी बाढीको असर आईजीआईको वित्तीय सूचकमा परेको छ । गत वर्ष आईजीआईको खुद नाफा ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा बीमा कोष र खुद बीमा शुल्क संकलनमा उत्साहजनक प्रगति गरेको छ । आईजीआईले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको व्यवसाय र कोषको आकार बढेको छ ।

मुख्य व्यवसाय अर्थात् खुद बीमा शुल्क संकलन अघिल्लो वर्षको तुलनामा ६.६८ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, आईजीआईको बीमा कोषमा ८३.१६ प्रतिशतको बृद्दि देखिँदै ७ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुगेको छ ।

तर, कम्पनीको खुद नाफामा उल्लेख्य घटेको छ । खासगरि गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र विनासकारी बाढीको असर आईजीआईको वित्तीय सूचकमा परेको छ । गत वर्ष आईजीआईको खुद नाफा ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । जवकी आईजीआईले अघिल्लो वर्ष २०८१/८२ मा ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सार्वजनिक विवरणअनुसार आईजीआईको कुल आम्दानी ३.६५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ११ लाख रुपैयाँ पुगेको छ । तर, कुल खर्च ३६.१८ प्रतिशतले बढेर २ अर्ब ३९ करोड़ ९२ लाख रुपैयाँ पुगेको छ । 

आईजीआईले गत वर्ष २ अर्ब २४ करोड २९ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी दिएको छ । यद्यपी यो दावी भुक्तानी अघिल्लो वर्षको तुलनामा ८.९४ प्रतिशतले थोरै हो । ३ अर्ब २९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आईजीआईको सञ्चित नाफा ८८.०६ प्रतिशतले घटेर १ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । तर, महाविपत्ति जगेडा कोष भने २.०७ प्रतिशतले बढेर ९ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

नाफा घटेपछि आईजीआईको प्रतिसेयर आम्दानी (इपीएस) पनि उल्लेख्य घटेको छ । अघिल्लो वर्ष १२.०५ रुपैयाँ रहेको इपीएस समीक्षा गत वर्ष घटेर ०.१३ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७९.५३ रुपैयाँ छ । आईजीआईले गत वर्ष २ लाख ३७ हजार ७०८ बीमालेख विक्री गरेको छ ।