देउवालाई विमानस्थलबाट समर्थकले स्कर्टिङ गर्दै अस्थायी निवासतर्फ लगे (तस्बिरसहित)
काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारपछि बिहीबार स्वदेश फर्किएका छन् । देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं अवतरण गरेका हुन् ।
गत भदौ २४ गते भएको ‘जेन-जी आन्दोलन’का क्रममा गम्भीर घाइते भएपछि उनी धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासहित उपचारका लागि सिङ्गापुर गएका थिए । सिङ्गापुरमा स्वास्थ्योपचार गराएपछि उनी थाइल्याण्ड हुँदै नेपाल फर्किएका हुन् ।
देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । विशेषगरी काँग्रेसको इतर पक्षका समर्थक उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए । केही गगन थापा नेतृत्वको आधिकारिक काँग्रेस पक्षका नेताहरूको समेत विमानस्थलमा उपस्थिति देखिएको थियो।
देउवा विमानस्थलमा ओर्लिएपछि समर्थकहरूले नाराबाजीसहित उनको भव्य स्वागत गरेका थिए । सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।
विमानस्थलबाट बाहिरिएपछि देउवाको ‘रोड शो’ समेत गरिएको छ । उनले कारको सनरुफबाट आधा शरीर बाहिर निकालेर समर्थकहरूलाई हात हल्लाउँदै अभिवादन गरेका थिए । देउवालाई पछ्याउँदै सयौँ नेता-कार्यकर्ता सडकमा देखिएका थिए ।
समर्थकहरूले सवारीसाधनमार्फत स्कर्टिङ गर्दै देउवालाई महाराजगञ्जस्थित उनको अस्थायी निवासतर्फ लगेका छन् । ‘जेन-जी आन्दोलन’का क्रममा देउवा दम्पती घाइते भएका थिए भने बूढानीलकण्ठस्थित देउवाको निवासमा समेत ठूलो क्षति पुगेको थियो । सोही घटनापछि उपचारका लागि सिङ्गापुर पुगेका देउवा स्वास्थ्योपचार सकेर स्वदेश फर्किएका हुन् । देउवाको स्वदेश फिर्तीसँगै नेपाली काँग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधि र शक्ति समीकरणमा समेत चासो बढेको छ ।
