नेप्सेको सीईओ बन्न ८ जनाको आवेदन

विज्ञापन
ncell

सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, कानून वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म ८ वटा आवेदन दर्ता भएका हुन् ।

प्रवक्ता लम्सालका अनुसार अब विज्ञहरूमार्फत उम्मेदवारहरूले पेश गरेको कार्ययोजनाको मूल्याङ्कन गरिनेछ । त्यसपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार गरी उनीहरूलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइनेछ। सम्पूर्ण छनोट प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ नेतृत्व पाउने उनले बताए।

यसअघि सिफारिस समितिले साउन १२ गतेदेखि २६ गतेसम्म आवेदन आह्वान गरेको थियो ।

सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, कानून वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै, पुँजीबजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव तथा त्यसमध्ये कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।

नेप्सेको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणतर्फ अघि बढेसँगै अब नयाँ सीईओले नेपालको पुँजीबजार सुधार, प्रविधिमैत्री सेवा विस्तार तथा लगानीकर्ताको विश्वास अभिवृद्धिमा कस्तो कार्ययोजना प्रस्तुत गर्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ ।