नेपालमा नयाँ हुन्डाई भेन्युको बिक्री सुरु, सुरुआती मूल्य ४८ लाख ९६ हजार

विज्ञापन
ncell

नेपालमा अल न्यु हुन्डाई भेन्यु एसयूभीको बिक्री औपचारिक रूपमा सुरु भएको छ ।

काठमाडौं । नेपालमा अल न्यु हुन्डाई भेन्यु एसयूभीको बिक्री औपचारिक रूपमा सुरु भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल ले नाइमा मोबिलिटी एक्स्पोमार्फत नयाँ जेनेरेशन भेन्यु सार्वजनिक गर्दै यसको बिक्री खुला गरेको हो ।

नेपालमै एसेम्बल गरिएको नयाँ भेन्यु चार भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले यसको सुरुआती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ भने स्पोर्टी ‘एन लाइन’ भेरियन्टको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

पहिलेको मोडलको तुलनामा व्यापक रूपमा परिमार्जन गरिएको नयाँ भेन्युमा पहिलो पटक एडास लेभल-२ सुरक्षा प्रविधि समावेश गरिएको छ । यससँगै ३६० डिग्री क्यामरा, ड्राइभ मोड, ट्र्याक्सन मोड, फ्रन्ट पार्किङ सेन्सर, रिक्लाइनिङ रियर सिट, इलेक्ट्रिक पार्किङ ब्रेक र अटो होल्डजस्ता आधुनिक फिचर उपलब्ध छन् ।

कम्पनीले टप भेरियन्टमा बोसको ८ स्पीकर साउन्ड सिस्टम, १२.३ इन्चका दुईवटा डिजिटल स्क्रिन तथा प्रयोगमैत्री फिजिकल बटनहरू समावेश गरेको छ । नयाँ ड्यासबोर्ड डिजाइनले प्रिमियम अनुभूति दिने कम्पनीको दाबी छ ।

डिजाइनतर्फ पनि भेन्युले उल्लेखनीय परिवर्तन पाएको छ । नयाँ फ्रन्ट ग्रिल, पुनः डिजाइन गरिएको रियर प्रोफाइल, आकर्षक एलईडी लाइटिङ र नयाँ अलोय ह्वील डिजाइनले यसलाई थप आधुनिक र स्पोर्टी बनाएको छ । ह्वील साइज भने १६ इन्चकै निरन्तरता दिइएको छ ।

इन्जिन विकल्पमा कुनै परिवर्तन गरिएको छैन । भेन्युमा १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छन् । पेट्रोल भेरियन्टमा ५ स्पीड म्यानुअल तथा टर्बो पेट्रोलमा ७ स्पीड ड्युल क्लच ट्रान्समिसन दिइएको छ। डिजेल इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध छ ।

क्याबिनमा भेन्टिलेटेड सिट, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा अन्य प्रिमियम सुविधाहरू थप गरिएका छन् । विशेषगरी एडास लेभल-२ जस्तो उन्नत सुरक्षा प्रविधि र नेपालमै एसेम्बल भएको विशेषताले नयाँ भेन्युलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।