गलैँचा उद्योगमा नयाँ रणनीति, विश्व बजारमा पुनः पहिचान बनाउने सरकारको लक्ष्य

विज्ञापन
ncell

काठमाडौं । सरकारले नेपाली गलैँचा उद्योगलाई आधुनिक प्रविधि, गुणस्तर र ब्रान्डिङमार्फत विश्व बजारमा पुनः स्थापित गर्ने लक्ष्यसहित ‘गलैँचा निर्यात राष्ट्रिय रणनीतिक कार्ययोजना २०८३-२०८८’ सार्वजनिक गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत गरेको कार्ययोजनाले उत्पादन तथा उत्पादकत्व वृद्धि, गुणस्तर प्रमाणीकरण र ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजार विस्तार तथा संस्थागत सुदृढीकरणलाई मुख्य प्राथमिकता दिएको छ ।

हाल नेपाली गलैँचा ७३ भन्दा बढी देशमा निर्यात हुँदै आएको छ भने यस क्षेत्रले करिब ३ लाखलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको सरकारी तथ्याङ्क छ। कुल निर्यातमा करिब ३।९ प्रतिशत योगदान गर्ने गलैँचा उद्योगको मूल्य अभिवृद्धिको करिब ८० प्रतिशत नेपालमै रहने गरेको छ ।

तर कच्चा पदार्थमा आयात निर्भरता, पुरानो प्रविधि, उच्च उत्पादन तथा ढुवानी लागत, दक्ष जनशक्तिको अभाव, गुणस्तर प्रमाणीकरण र ब्रान्डिङको कमजोरीजस्ता समस्या उद्योगले भोग्दै आएको छ। सन् १९९० को दशकमा वार्षिक २५ लाख वर्गमिटरभन्दा बढी गलैँचा निर्यात हुने गरेकोमा अहिले यो परिमाण करिब ६ लाख वर्गमिटरमा झरेको छ ।

सरकारले उत्पादनमा आधुनिक मेसिनरी र कम्प्युटर एडेड डिजाइन (सीएडी) प्रयोग बढाउने, सामूहिक ट्रेडमार्क दर्ता गर्ने, अन्तर्राष्ट्रिय बजारअनुकूल प्रयोगशाला स्थापना गर्ने तथा डिजिटल मार्केटिङ र ई-कमर्समार्फत बजार विस्तार गर्ने योजना अघि सारेको छ ।

युरोप र अमेरिकासँगै मध्यपूर्व तथा पूर्वी एसियामा नयाँ बजार खोज्ने, ‘टफ्टेड’ र ‘ओभन’ गलैँचाको उत्पादन बढाउने तथा अल्लो, गाँजा र केराका रेसाजस्ता प्राकृतिक सामग्री प्रयोग गरी वातावरणमैत्री उत्पादनलाई प्रोत्साहन गर्ने योजना पनि कार्ययोजनामा समेटिएको छ ।

कार्ययोजना कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रलाई सहभागी गराइनेछ। यसको प्रगति अनुगमन तथा मूल्याङ्कनका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्ने सरकारको योजना छ ।