ढल्केवर ट्रमा सेन्टरको मागमा सांसद यादव आक्रोशित, दिनभरि सदनमा उभिने घोषणा
उनले ढल्केबरमै ट्रमा सेन्टर हुनुपर्छ भन्ने पक्षमा दिनभरि सदनमा उभिएर बस्ने बताए।
काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले ढल्केबरमै ट्रमा सेन्टर हुनुपर्छ भन्ने पक्षमा दिनभरि सदनमा उभिएर बस्ने बताए। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले सरकारको विरोधमा मौन धारण गर्ने बताए ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केवरमा नभई अन्यत्रै ट्रमा सेन्टर सेन्टर बन्ने बताएको भन्दै आपत्ति जनाएका हुन् । मन्त्री मेहताले मधेस प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो । सांसद यादवले अन्यत्र ट्रमा सेन्टर बनाउने कुरामा कुनै आपत्ति नभएपनि ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर जसरि पनि बन्नुपर्ने आफूहरुको माग रहेको बताए ।
धनुषाको हालको मिथिला नगरपालिका-७ मा ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शिर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो । त्यसयता हरेक वर्ष उक्त शीर्षकमा बजेट विनियोजन हुँदै आएपनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ्न सकेको छैन ।
