सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त छः सचेतक राई

विज्ञापन
ncell

बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेका बेला सरकार संवेनदशील नभएको उनको आरोप छ।

काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचेतक राईले पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताएका हुन् । 

सचेतक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पुर्‍याएको योगदानको स्मरण गरे ।

आफू इलामको एउटा सामान्य किसान परिवारमा जन्मिएको र विभिन्न समुदायको संस्कार एवं संस्कृतिमा हुर्किएको चर्चा गर्दै उनले बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको सुन्दरता भएको उल्लेख गरे । आफू जन्मले नभई विचार र चिन्तनले काँग्रेस भएको स्पष्ट पारे । पहिचानको मुद्दामा आफ्नो धारणा राख्दै उनले आदिवासी जनजातिहरू आफ्नो पहिचानका लागि पार्टी र राज्यका हरेक निकायमा लड्ने प्रतिवद्धता व्यक्त गरे ।

यद्यपि, पहिचानको लडाइँ लड्दा अरूको पहिचानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उनको तर्क छ । पछिल्लो समय पहिचानको नाममा मानिसहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएकोमा उनले चिन्ता व्यक्त गरे । कतिपय शक्तिले इतिहास र पहिचानलाई देखाएर पार्टी प्रवेश गराउने होडबाजी चलाएको उल्लेख गर्दै उनले त्यसले अन्ततः द्वन्द्व निम्त्याउने चेतावनी दिए । पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने गरी काँग्रेसका नेताहरूले अघि सारेको मार्गलाई आत्मसात गर्न उनले सबैलाई आह्वान गरे । 

काँग्रेसको आन्तरिक रूपान्तरणबारे चर्चा गर्दै सचेतक राईले पार्टीको कार्यशैलीमा परिवर्तन आएको दाबी गरे । बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेका बेला सरकार संवेनदशील नभएको उनको आरोप छ । सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त रहेको टिप्पणी गर्दै उनले सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।