महिलामाथि हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘ब्लु बस’ सेवा: मन्त्री बादी

विज्ञापन
ncell

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न लक्षित उपायका रूपमा ‘ब्लु बस’सेवा सञ्चालनमा ल्याइएको स्पष्ट पारेकी छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले ‘ब्लु बस’ सेवा महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्नबाट रोक्ने वा नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन गर्ने उद्देश्यले नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्याधिक भीडभाड तथा आवागमनका व्यवहारिक कठिनाइलाई सम्बोधन गर्न ल्याइएको बताइन् । 

उनले सरकारले लैंगिक असमानता बढाउने नभई महिलाले सार्वजनिक यातायातमा भोगिरहेका विद्यमान असमान जोखिम न्युनिकरण गर्ने आवश्यकतामा आधारित भएर ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको बताइन् । उनले सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग अलग यात्रा गराउने नभई सार्वजनिक बसमा सम्मानजनक, सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको बताइन् ।

 उनले महिलामाथि सार्वजनिक बसमा हुने दुव्र्यवहार र जोखिमलाई तत्काल सम्बोधन गर्नु सरकारको जिम्मेवारी रहेको पनि बताइन् । उनले सार्वजनिक यातायात प्रणालीलाई सुधार गर्ने कुरामा सरकार गम्भीरताका साथ काम गरिरहेको समेत बताइन् ।