घोषणापत्रका प्रतिवद्धता कार्यान्वयन गर्ने समय आयोः रवि लामिछाने

उनले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताएका हुन् ।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सीमित भएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताएका छन् ।

उनले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताएका हुन् । 

सोमवार जनकपुरधाममा पार्टीका सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताए। उनले घोषणापत्रमा धेरै कुरा लेखिए पनि ती प्रतिविद्धतालाई व्यवहारमा उतार्नु मुख्य चुनौती रहेको उल्लेख गरे । 

लामिछानेले मधेस र सिङ्गो देशका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि नीतिगत सुधार आवश्यक रहेको बताए। पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै उनले काम गर्ने क्रममा कमजोरी भए सच्याएर अघि बढ्ने बताए । 

उनले संघीय शासन व्यवस्थाभित्र प्रदेश संरचनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको पनि बताए । प्रदेश संरचनालाई बलियो बनाउने विषयमा रास्वपाले विगतदेखि नै धारणा राख्दै आए पनि त्यसबापत विभिन्न आक्षेप खेप्नुपरेको उनको भनाइ छ । उनले प्रदेश सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, प्रदेशको भूमिका थप स्पष्ट बनाउने र स्थानीय तहलाई नागरिकका आवश्यकताअनुसार अधिकारसम्पन्न बनाउने विषयमा छलफल अघि बढाइने बताए । प्रदेश संरचनाको सुधार र पुनरावलोकनको विषय उठाउँदा अनावश्यक रूपमा तर्सिने वा त्यसको गलत अर्थ लगाउने प्रवृत्ति रहेको भन्दै उनले यस्ता बहसबाट पछि हट्न नहुने बताए । लामिछानेले रास्वपाले यस विषयमा छिट्टै राष्ट्रिय बहस शुरु गर्ने र अन्य राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्य गर्दै सहमतिका आधारमा अघि बढ्ने पनि बताए । 

उनले जनताले रास्वपालाई दिएको मतलाई निर्विकल्प जिम्मेवारीका रूपमा व्याख्या गर्दै आवश्यकता र प्राथमिकता पहिचान गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।