ग्यास अभाव रोक्न आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ सक्रिय, समस्या भए सम्पर्क गर्न आग्रह
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको यो टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ।
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले विशेष ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको यो टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ।
पछिल्ला केही दिनयता विभिन्न स्थानमा ग्यास अभावको गुनासो बढ्दै गएपछि आपूर्ति व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाउन मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगीका प्रतिनिधिहरू सम्मिलित संयुक्त संयन्त्र बनाइएको हो।
टोलीमा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका प्रतिनिधिका रूपमा आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्। यो संयन्त्रको मुख्य जिम्मेवारी देशका कुनै पनि स्थानमा ग्यास आपूर्तिमा समस्या, वितरणमा अवरोध वा अभाव देखिएमा सम्बन्धित निकायसँग तत्काल समन्वय गरेर समाधान निकाल्नु रहेको निगमले जनाएको छ।
उपभोक्ताबाट प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित ग्यास उद्योग, डिलर तथा वितरकसँग समन्वय गरी आवश्यक स्थानमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। पछिल्लो समय बजारमा ग्यास अभावका कारण उपभोक्ता लामो समय लाइनमा बस्नुपर्ने र दैनिक कामकाज प्रभावित हुने अवस्था देखिएपछि यस्तो द्रुत प्रतिक्रिया टोली गठन गरिएको हो।
कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकतामा राखेर तत्काल आवश्यक पहल गरिने निगमको भनाइ छ। ग्यास आपूर्ति वा वितरणसँग सम्बन्धित कुनै समस्या भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। सो नम्बरमा प्राप्त सूचनाका आधारमा क्विक रेस्पोन्स टिमले सम्बन्धित पक्षसँग समन्वय गरी आपूर्ति सहज बनाउन आवश्यक कदम चाल्ने निगमले जनाएको छ।
