बाढीको दोहोरो मारमा रसुवागढी हाइड्रोपावर, पहिलो त्रैमासमै ४१ करोडभन्दा बढी घाटा

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा खुद नोक्सानी ६५ करोड ३४ लाख रुपैयाँ थियो । यसपटक घाटा केही घटे पनि प्राकृतिक विपत्तिका कारण आयोजना सञ्चालन अनिश्चित बनेपछि कम्पनीको आम्दानी र नगद प्रवाहमा ठूलो असर परेको छ ।

काठमाडौं । लगातार दुईपटक आएको विनाशकारी हिमबाढीले रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि रसुवागढी हाइड्रोपावर कम्पनीको वित्तीय अवस्था थप कमजोर बनेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४१ करोड ५७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा खुद नोक्सानी ६५ करोड ३४ लाख रुपैयाँ थियो । यसपटक घाटा केही घटे पनि प्राकृतिक विपत्तिका कारण आयोजना सञ्चालन अनिश्चित बनेपछि कम्पनीको आम्दानी र नगद प्रवाहमा ठूलो असर परेको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी आयोजना २०८१ पुस १५ देखि व्यावसायिक उत्पादनमा आएको थियो । तर, २०८२ असार २४ गते तिब्बत क्षेत्रमा हिमताल फुटेर आएको बाढीले आयोजनाको हेडवर्क्स, मितेरी पुल तथा विद्युत्गृहका उपकरणमा क्षति पुर्‍याएको थियो । मर्मतपछि कम्पनीले २०८२ पुस १० देखि आंशिक र २०८३ वैशाख ३२ देखि तीनवटै युनिटमार्फत पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको थियो ।

पहिलो बाढीबाट भएको क्षतिको पुनर्निर्माण लागत सुरुमा २ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ अनुमान गरिएको थियो । पछि संशोधन गरी २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ पुर्‍याइएको थियो । तर, बीमा कम्पनीबाट हालसम्म ६ करोड ७५ लाख रुपैयाँ मात्र पेश्की प्राप्त भएको र बाँकी रकम प्रक्रियामै रहेको कम्पनीले जनाएको छ ।

पहिलो बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भइरहेको अवस्थामा २०८३ भदौ १० गते पुनः आएको भीषण हिमबाढीले आयोजनालाई थप तहसनहस बनायो । यसले हेडवर्क्सका सम्पूर्ण संरचना, साइट कार्यालय, आवास भवन, निर्माण सामग्री, सवारीसाधन र पक्की पुल बगाएको छ । भूमिगत विद्युत्गृहभित्रका इलेक्ट्रोमेकानिकल उपकरणसमेत भग्नावशेषमा पुरिएका छन् भने प्रसारण लाइनका दुईवटा टावरमा क्षति पुगेको छ ।

उक्त घटनामा ५३ जना निर्माण तथा कम्पनीका कर्मचारी कार्यरत रहेकामा एक जनाको शव पहिचान भएको छ । विभिन्न निर्माण कम्पनीमा कार्यरत ३९ जना कर्मचारी तथा कामदार बेपत्ता भएका थिए । कम्पनीका सञ्चालक सुमी औदी तामाङसमेत सम्पर्कविहीन भएकी थिइन् ।

बाढीले पुल बगाएपछि आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्कसमेत विच्छेद भएको छ । वैकल्पिक पहुँचका लागि हाल बेलीब्रिज निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ ।

दोस्रो हिमबाढी आउनुअघि साउनदेखि भदौ १० सम्म कम्पनीले विद्युत् बिक्रीबाट ३० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा आयोजना बन्द रहेकाले विद्युत् बिक्रीबाट कुनै आम्दानी भएको थिएन ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २५ करोड ४१ लाख रुपैयाँ रहेको थियो । तर, कर्मचारी तथा प्रशासनिक खर्च, ह्रासकट्टी, ब्याज र अन्य खर्चसमेत जोडिँदा सञ्चालनतर्फ ४ करोड ८९ लाख रुपैयाँ घाटा भएको थियो । वित्तीय खर्चमा २८ करोड ९७ लाख र अन्य खर्चमा ७ करोड ७६ लाख रुपैयाँ थपिएपछि कुल खुद नोक्सानी ४१ करोड ५७ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीले चालु आर्थिक वर्षमा ५६ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरी ३ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, भदौ १० को हिमबाढीपछि आयोजना बन्द हुँदा उक्त लक्ष्य प्रभावित भएको छ ।

लगातारको घाटाले कम्पनीको सञ्चित वित्तीय अवस्था पनि कमजोर बनाएको छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहे पनि सञ्चित नोक्सानी बढेर २ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यससँगै कुल इक्विटी ३ अर्ब ९६ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।

असोज मसान्तसम्म कम्पनीको दीर्घकालीन कर्जा १३ अर्ब ८० करोड ८१ लाख र अल्पकालीन कर्जा ३ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुगेको छ । मुख्य ऋणदाता कर्मचारी सञ्चय कोषको पुँजीकृत ब्याजसहित कुल साँवा १२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । विद्युत् उत्पादन बन्द भएपछि नियमित किस्ता भुक्तानी गर्न नसक्दा थप ब्याज र हर्जानाको भार बढेको छ । यस विषयमा कोषसँग ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरणका लागि छलफल भइरहेको छ ।

यसअघि बाढीबाट भएको क्षतिको मर्मतसम्भार तथा वित्तीय व्यवस्थापनका लागि कम्पनीले चिलिमे जलविद्युत् कम्पनीबाट ३८ करोड ५० लाख, नबिल बैंकबाट ४९ करोड ८० लाख र कुमारी बैंकबाट ६३ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको थियो ।

वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ५७ रुपैयाँ ९९ पैसा र तरलता अनुपात ०.१७ गुणा रहेको छ । असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २३ अर्ब ५ करोड ४३ लाख रुपैयाँ र कुल चालु दायित्व ५ अर्ब २४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।