एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड रुपैयाँ नाफा, प्रतिसेयर आम्दानी भने घट्यो

विज्ञापन
ncell

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँको तुलनामा ४.७५ प्रतिशतले बढी हो ।

काठमाडौं । एभरेस्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य बढेको छ भने प्रतिसेयर आम्दानी घटेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँको तुलनामा ४.७५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १० करोड २३ लाख रुपैयाँबाट बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५३ करोड ५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष २७।२३ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । शुल्क तथा कमिसन आम्दानी बढ्नुले बैंकको गैर-ब्याज आम्दानी विस्तारमा सकारात्मक प्रभाव परेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब १७ करोड ६ लाख रुपैयाँबाट बढेर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा भने ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँबाट बढेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। यो करिब १२.९८ प्रतिशतको वृद्धि हो । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने सामान्य घटेको छ । अघिल्लो वर्ष ३७ रुपैयाँ ३९ पैसा रहेको ईपीएस गत वर्ष ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । ईपीएसमा सामान्य गिरावट आए पनि बैंकको प्रतिफल क्षमता अझै उच्च रहेको देखिन्छ ।

बैंकको प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४७ पैसा पुगेको छ । बजार मूल्य प्रतिसेयर ६९५ रुपैयाँ रहेको बैंकको मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १८.८१ गुणा कायम भएको छ । त्यस्तै, सम्पत्तिमा प्रतिफल (आरओए) १.३६ प्रतिशत र इक्विटीमा प्रतिफल (आरओई) १५.१० प्रतिशत रहेको छ ।

बैंकको कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ग्राहकबाट संकलित निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। बैंकको रिजर्भ तथा जगेडा कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकको खराब कर्जा ९एनपीएल० भने सामान्य बढेको छ । अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ०.४९ प्रतिशत पुगेको छ। तर समग्र बैंकिङ क्षेत्रको तुलनामा बैंकको खराब कर्जा अझै न्यून स्तरमा रहेको छ । बैंकको आधार दर ५.३६ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ । घट्दो ब्याजदरले कर्जा माग विस्तारमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।