एनएमबी बैंकको खुद नाफा ४ अर्ब १ करोड, निक्षेप र कर्जा उल्लेख्य वृद्धि
एनएमबीको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँबाट ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, शुल्क तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफा २९.०६ प्रतिशतले वृद्धि भएर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा, आम्दानी र समग्र व्यवसायमा उल्लेखनीय सुधार आएको छ । बैंकले गत असार मसान्तसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा यो ४०.६० प्रतिशतको वृद्धि हो ।
नाफामा सुधारसँगै बैंकको सञ्चालन आम्दानीका अधिकांश सूचक सकारात्मक देखिएका छन् । खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँबाट ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, शुल्क तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफा २९.०६ प्रतिशतले वृद्धि भएर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको नियम अनुसार विभिन्न कोषहरूमा रकम छुट्ट्याएपछि बैंकको नियामक समायोजन अघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । नियमनकारी समायोजन र अघिल्लो वर्षको सञ्चित नाफा समायोजन पश्चात् कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ कायम भएकोमा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश घटाएपछि साधारण सेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध रहेको छ । यस अनुसार साधारण सेयरधनीहरूका लागि प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ ।
बैंकले आफ्नो व्यवसाय विस्तार र वासलातको आकार थप विस्तार गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको ग्राहक निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकले ग्राहकहरूलाई प्रवाह गरेको कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा समीक्षा अवधिमा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ । यद्यपि, सम्भावित कर्जा नोक्सानी व्यवस्था ९२.५७ प्रतिशत कायम गरिएकाले जोखिम व्यवस्थापन बलियो बनाइएको छ ।
