राष्ट्रिय सभामा सांसदको प्रश्न: महँगी बढ्दा र ग्यास अभाव हुँदा सरकार कहाँ छ?

विज्ञापन
ncell

काठमाडौं । राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, सीमा क्षेत्रमा देखिएका समस्या र न्यायको पर्खाइमा रहेका नागरिकका विषयमा सरकारको जवाफदेहिता खोजेका हुन् । 

सांसद कृष्णबहादुर रोकायाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर बनेको बताए । छिमेकी मुलुक भारतमा एलपी ग्यासको मूल्य घट्दा समेत नेपालमा आयल निगमले मूल्य नघटाएको र बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको उनको भनाइ छ । विशेषगरी रुकुम पश्चिममा होटल व्यवसायी र सर्वसाधारणले ग्यास अभावका कारण सास्ती खेप्नुपरेको भन्दै उनले तत्काल आपूर्ति सहज बनाउन माग गरे । 

सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले खाद्यान्नको भाउ आकाशिएको उल्लेख गर्दै सरकार नागरिकका आधारभूत समस्याप्रति संवेदनशील नभएको आरोप लगाइन् ।