सेयर बजार समीक्षाः जुलाईमा विगत भन्दा कमजोर प्रदर्शन, नीतिगत सुधारले आशा जगाएको अगस्टमा के होला?

विज्ञापन
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक जुलाई २०२६ मा ७७.२१ अंक अर्थात् २.९६ प्रतिशतले बढेको छ । सूचक वृद्धि सकारात्मक रहे पनि विगतका वर्षहरूको तुलनामा यो अपेक्षाकृत कमजोर प्रदर्शन हो । विगत २९ वर्षको तथ्यांक हेर्दा जुलाई महिना सामान्यतः नेप्सेका लागि अनुकूल रहँदै आएको छ । यस अवधिमा २२ पटक बजार बढेको छ भने ७ पटक मात्र घटेको छ ।

तर यस वर्षको २.९६ प्रतिशत वृद्धि जुलाई महिनाको औसत ८.६४ प्रतिशत वृद्धिभन्दा निकै कम हो । यसअघि जुलाईमा यसभन्दा कम वृद्धि भएका वर्षहरू २००६ (०.९६ प्रतिशत), २०१० (१.२९ प्रतिशत) र २०१९ (१.६६ प्रतिशत) मात्रै थिए ।

जुन ३० असार १६ गते २४.६३ अंकमा बन्द भएको नेप्से जुलाई ३१ साउन १५ गते १२.९६ अंकमा पुगेर बन्द भएको हो । जुलाई महिनाभर भएका २३ कारोबार दिनमध्ये १२ दिन बजार बढ्यो भने ११ दिन घट्यो । यसले बजारमा उतारचढाव तीव्र रहे पनि अन्ततः सकारात्मक नतिजा आएको देखाउँछ ।

यद्यपि जुलाईको अन्तिम सातामा देखिएको राजनीतिक तथा सामाजिक अस्थिरताले बजारको वृद्धिदर सीमित बनायो । साउन १० गते राति सुनसरीको देवानगञ्जमा बोलबम यात्राको तयारीका क्रममा दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएको थियो ।

घटनापछि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र त्यसपछिका दिनहरूमा मधेसका विभिन्न जिल्लामा आन्दोलन चर्किंदा लगानीकर्ताको मनोबल प्रभावित भएको देखियो । त्यसकै प्रभावस्वरूप सोमबारदेखि बिहीबारसम्म नेप्से ६२ अंकभन्दा बढीले घटेको थियो ।

तर गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र आन्दोलनरत पक्षबीच सातबुँदे सहमति भएपछि बजारले राहत महसुस ग¥यो। सहमति भएको दिन शुक्रबार नेप्से १२.९६ अंकले बढ्दै जुलाई महिनाको कारोबार सकारात्मक रूपमा टुंग्यायो ।

यसबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन १२ गते निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग करिब पाँच घण्टा लामो छलफल गरेका थिए । अर्थ मन्त्रालय, उद्योग मन्त्रालयका अधिकारी तथा दुई दर्जनभन्दा बढी व्यवसायी सहभागी उक्त बैठकलाई निजी क्षेत्रसँग विश्वास पुनःस्थापनाको प्रयासका रूपमा हेरिए पनि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएन । यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रका प्रतिनिधिसँग गरेको संवादले पनि बजारमा उल्लेख्य उत्साह सिर्जना गर्न सकेको थिएन ।

जुलाईको अन्तिम कारोबार दिन भने नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको नयाँ अवधारणापत्रले लगानीकर्ताको ध्यान तान्यो । बोर्डले पहिलोपटक मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ तथा कभर्ड सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक गर्दै पूँजी बजारमा धितोपत्र वित्तीय सेवाको आधार तयार गरेको छ । बजार विश्लेषकहरूका अनुसार यस्तो नीतिगत पहलले बजारको दीर्घकालीन विकासका लागि नयाँ ढोका खोल्ने संकेत गरेको छ ।

यसैबीच, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले वर्तमान आर्थिक तथा नीतिगत सूचकहरूलाई हेर्दा सेयर बजार क्रमशः सुधारोन्मुख हुनुपर्ने बताएका छन् । उनका अनुसार अब सूचीकृत कम्पनीहरूले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा गर्ने समय सुरु हुँदैछ । लगानीकर्ताले वित्तीय विवरणका आधारमा लगानी निर्णय गर्ने भएकाले बजारलाई सकारात्मक आधार प्राप्त हुने उनको भनाइ छ ।

रानाभाटका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर तथा पूँजी बजारप्रति सरकार र नियामक निकायहरूको तुलनात्मक रूपमा सकारात्मक दृष्टिकोणले बजारलाई सहयोग गर्ने अवस्था छ । केही कम्पनीहरूको सेयर मूल्य अझै एक वर्षअघिको तुलनामा आकर्षक तहमा रहेकाले डिभिडेन्ड सिजनले बजारलाई थप टेवा दिन सक्ने उनले बताए ।

यद्यपि बजारको दिशा केवल आर्थिक सूचकहरूले मात्र निर्धारण नगर्ने उनको तर्क छ । लगानीकर्ताको मनोविज्ञान र बजारको ‘सेन्टिमेन्ट’ ले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले बजारको आगामी दिशा ठ्याक्कै अनुमान गर्न कठिन हुने रानाभाट बताउँछन् । पछिल्लो राजनीतिक घटनाक्रमले लगानीकर्ताको आत्मविश्वासमा केही असर पारे पनि त्यसले बजारका आधारभूत पक्षलाई प्रत्यक्ष रूपमा प्रभावित नगरेको उनको भनाइ छ ।

अग्रवाल सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६) का निर्देशक भुवनेश्वर यादवले पनि पछिल्लो समय बजारमा देखिएको गिरावटको मुख्य कारण आधारभूत आर्थिक पक्षभन्दा बढी सुनसरी घटनापछि सिर्जित असहज राजनीतिक तथा सामाजिक वातावरण रहेको बताएका छन् ।

उनका अनुसार ब्याजदर निरन्तर घटिरहेको, लगानीकर्तामा विस्तारै विश्वास फर्किन थालेको तथा सरकारले लगानीकर्ता र पुँजी बजारसँग सम्बन्धित निकायहरूसँग संवाद बढाएको कारण बजार सुधारको दिशातर्फ उन्मुख छ ।

तर ठूला लगानीकर्ताहरू अझै आक्रामक रूपमा बजारमा नफर्किएकाले कारोबार रकममा उल्लेख्य वृद्धि हुन नसकेको यादवको भनाइ छ । उनका अनुसार हाल बजार सीमित दायराभित्र चलिरहेको छ र केही निश्चित कम्पनीका सेयरमा मात्रै उल्लेख्य गतिविधि देखिएको छ । बजारको दिगो सुधारका लागि समग्र लगानीकर्ता समुदायमा विश्वास र उत्साह आवश्यक रहेको उनले बताए ।

यादवले नेपालको सबैभन्दा पारदर्शी व्यवसायमध्ये सेयर बजार पनि एक भएको उल्लेख गर्दै पछिल्लो समय सरकारले अपनाएको धरपकड शैलीले लगानीकर्ताको मनोबलमा असर पारेको टिप्पणी गरे ।

कुनै पनि व्यक्तिलाई दोषी प्रमाणित हुनुअघि सार्वजनिक रूपमा प्रतिष्ठामा आँच पुग्ने गरी कारबाही गर्नु उपयुक्त नहुने उनको धारणा छ । दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्ने भए पनि आर्थिक जरिवानालगायतका उपायलाई प्राथमिकता दिन सकिने उनले बताए । यसले गलत कार्यमा संलग्न व्यक्तिलाई सजाय हुने र बजारप्रतिको विश्वास पनि कायम रहने उनको विश्वास छ ।

अब अगस्ट २०२६ कस्तो होला?

इतिहास हेर्दा अगस्ट महिना नेप्सेका लागि जुलाईजस्तो अनुकूल देखिँदैन । विगत २९ वर्षमध्ये १६ पटक अगस्टमा नेप्से घटेको छ भने १३ पटक मात्रै बढेको छ । अझ पछिल्ला १० वर्ष (२०१६–२०२५) को तथ्यांकले झन् सावधानीको संकेत गर्छ । २०२० बाहेक सबै वर्ष अगस्टमा नेप्से ओरालो लागेको थियो ।

तर बजारको आगामी दिशा केवल ऐतिहासिक प्रवृत्तिले मात्र निर्धारण गर्दैन । राजनीतिक स्थायित्व, लगानीकर्ताको मनोबल, मौद्रिक नीतिको कार्यान्वयन, सेबोनका नयाँ नीतिगत पहल तथा समग्र आर्थिक वातावरणले अगस्टको बजारलाई प्रभाव पार्नेछन् ।

इतिहासले दबाब देखाए पनि घट्दो ब्याजदर, पर्याप्त तरलता, डिभिडेन्ड सिजनको सुरुआत र नियामकीय सुधारका प्रयासले बजारप्रति आशावादी हुने आधार भने अझै कायम रहेको देखिन्छ । अब अगस्ट मा नेप्सेले इतिहासलाई पछ्याउँछ वा नयाँ दिशा समात्छ भन्ने उत्तर आगामी कारोबारका दिनहरूले दिनेछन् ।