सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता सुरु
अनसनरत पक्षका मागलाई सम्बोधन गरी आन्दोलनको अन्त्य गर्न सरकारले बिहीवारदेखि औपचारिक संवाद सुरु गरेको हो ।
काठमाडौं । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ ।
अर्थ मन्त्रालयमा भइरहेको यस वार्तामा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षका प्रतिनिधिहरूबीच समस्या समाधानका विषयमा विस्तृत छलफल भइरहेको हो ।
लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग राखी विगत केही दिनदेखि राजधानीको माईतीघर मण्डलामा पीडितहरू आमरण अनसनमा बसिरहेका छन् । अनसनरत पक्षका मागलाई सम्बोधन गरी आन्दोलनको अन्त्य गर्न सरकारले बिहीवारदेखि औपचारिक संवाद सुरु गरेको हो ।
सरकारी वार्ता टोलीमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन् । टोलीको सदस्य सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन् । दुवै पक्षबीच जारी वार्ताबाट लघुवित्त पीडितका माग सम्बोधन तथा आन्दोलनको निकास खोज्ने प्रयास भइरहेको छ ।
