राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज प्रक्रियामा, लेनदेन भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कसैको कुनै प्रकारको लेनदेन, दाबी वा अन्य सरोकार भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारको इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम आफ्नो मनिचेञ्जर कारोबार बन्द गर्न निवेदन दिएको हो ।

सोही विनियमअनुसार उक्त संस्थाको मनिचेञ्जर कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कसैको कुनै प्रकारको लेनदेन, दाबी वा अन्य सरोकार भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

यो सूचना नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ को उपविनियम (२) बमोजिम प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।