५३ कारोबार दिनपछि नेप्से २७०० मुनि, कारोबार रकम ४ अर्ब ३६ करोडमा खुम्चियो

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से २६.१६ अंकले घट्दै २६७४.४८ बिन्दुमा खुम्चिएको हो । आज ४ अर्ब ३६ करोड २१ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३ कारोबार दिनपछि २७०० बिन्दुभन्दा तल झरेको छ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से २६.१६ अंकले घट्दै २६७४.४८ बिन्दुमा खुम्चिएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ । १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.९२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ३६ करोड २१ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ । 

आज पनि टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको बुंगल हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन एपोलो हाइड्रोपावरको सेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोपान फर्मास्यूटिकल्सको करिब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।  मंगलबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।