बैंक लुटपाट प्रकरण: 'हाम्रो सुन फिर्ता दे' भन्दै पीडितहरूद्वारा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय घेराउ
गत भदौ २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा बैंकको शाखाबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा बढी नगद लुटपाट भएको थियो ।
काठमाडौँ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएका ग्राहकहरूले सोमबार सिंहदरबार प्लाजामा रहेको बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । गत भदौ २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा बैंकको शाखाबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा बढी नगद लुटपाट भएको थियो । लुटपाट भएको लामो समय बितिसक्दा पनि बैंकले उचित क्षतिपूर्ति वा राहत नदिएको भन्दै आक्रोशित पीडितहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विरुद्ध "सिईओ चोर, हाम्रो कुल तौल बराबरको सुन फिर्ता दे" भन्दै चर्को नाराबाजी समेत गरे ।
पीडितहरूका अनुसार बैंकले उनीहरूको वास्तविक सुन फिर्ता गर्नुको साटो उल्टै सेवा शुल्क कटाएर अत्यन्तै न्यून रकम मात्र लिन आग्रह गरिरहेको छ । तत्कालीन बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ बराबरको सुन र ५ करोडभन्दा बढी नगद लुटिएको यस घटनामा बैंकले जिम्मेवारीपूर्ण कदम नचालेको उनीहरूको गुनासो छ । आन्दोलनकारीले बैंकको सुरक्षा प्रणालीलाई समेत चुनौती दिँदै भल्टसम्म पुग्ने बलियो 'आइरन गेट' नै फोडेर उक्त डकैती गरेका थिए । यसै लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका यादवको साथबाट चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन समेत बरामद भइसकेको छ भने थप अनुसन्धान र खोजी कार्य जारी छ ।