निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता

उनले निजी क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताए ।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने बताएका छन् । बुधवार संस्थाको कार्यालयमा कार्यभार सम्हाल्दै उनले यस्तो प्रविद्धता जनाएका हुन् । उनले निजी क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताए ।

उनले आफ्नो कार्यकालमा गरिएका प्रतिवद्धताहरूलाई कार्यसमितिबाट पारित गराई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने बताए । अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रमा विद्यमान समस्याहरूलाई राष्ट्रिय स्तरमा मन्त्रालयसँगको सहकार्य र छलफलबाट समाधान गरिने उल्लेख गरे ।

विशेष गरी पछिल्लो समय चर्चामा रहेको १३०० मेगावाटका आयोजनाहरू खारेज हुनसक्ने विषयमा मन्त्रालयसँग आवश्यक संवाद गरी निजी क्षेत्रको हितमा काम गर्ने उनको भनाइ थियो ।

विगतका अध्यक्षहरू शैलेन्द्र गुरागाईं, कृष्ण आचार्य र निवर्तमान अध्यक्ष गणेश कार्कीसँग निकट रहेर काम गरेको अनुभवका आधारमा आफूलाई आयोजनाका सर्वेक्षण, निर्माण र उत्पादनका तीनवटै चरणमा भोग्नुपर्ने समस्याबारे पूर्ण जानकारी रहेको उनले बताए ।