चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा बन्द भएको छ । आज ३ अर्ब ६३ करोड ७५ लाख रुपैँया बराबरको कारोबार भएको छ ।
काठमाडौँ । लगातार चार दिनको गिरावटपछि सेयर बजारमा बुधबार सामान्य अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अंक घटेकोे छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।
१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, हाईड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुमा बैंकिङ, होटल, जीवन बीमा, लघुवित्त, म्युचुअलफण्ड, निर्जीवन बीमा, अन्य र व्यपार उपसमूह रहेका छन।
नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६३ करोड ७५ लाख रुपैँया बराबरको कारोबार भएको छ ।
आज पनि सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यसदिन बुंगल हाईड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन मूल्य घटेका स्टकहरुमा एनएमबी डिबेञ्चर १०.७५ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै २१ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ३२ लाख र बुंगल हाइड्रोको १७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएकामध्ये १२५ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।