जेठमा घरजग्गा कारोबारमा सुस्तता: ५ अर्ब २४ करोड राजस्व संकलन

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ वटा कार्यालयहरूले गत जेठ महिनामा कुल ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

काठमाडौं । देशभरका भूमि प्रशासन (मालपोत) कार्यालयहरूबाट संकलन हुने राजस्वमा जेठ महिनामा केही गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ वटा कार्यालयहरूले गत जेठ महिनामा कुल ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व संकलन गरेका छन्, जुन वैशाख र चैत महिनाको तुलनामा करिब १ अर्ब रुपैयाँले कम हो । संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा रजिष्ट्रेसन दस्तुरबाट २ अर्ब ७८ करोड ५१ लाख र पूँजीगत लाभकरबाट २ अर्ब १२ करोड ३१ लाख रुपैयाँ उठेको छ भने सेवाकर वापत २८ करोड ६६ लाख रुपैयाँ संकलन भएको छ । काठमाडौं उपत्यकाभित्रका कार्यालयहरूमध्ये डिल्लीबजारले ३४ करोड ४४ हजार, चाबहिलले ३१ करोड ४२ लाख र टोखा मालपोतले १० करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेका छन् ।

पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा घरजग्गा कारोबार र राजस्व संकलनमा निकै उतारचढाव देखिएको छ । गत माघमा ५ अर्ब ९९ लाख राजस्व उठेकोमा फागुनमा घटेर ४ अर्ब १४ करोडमा सीमित भएको थियो । त्यसपछि चैतमा ६ अर्ब १६ करोड र वैशाखमा यस वर्षकै उच्च ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चैत र वैशाखमा लगातार ६ अर्ब माथि पुगेको राजस्व जेठमा आएर पुनः ५ अर्ब २४ करोडमा खुम्चिनुले जेठ महिनामा घरजग्गाको खरिदबिक्री र कित्ताकाटमा केही मन्दी आएको संकेत गरेको छ ।