ऊर्जा सम्बन्धी गुनासो भए वा कर्मचारीले घुस मागे तत्काल '११५१' मा फोन गर्न मन्त्री श्रेष्ठको आग्रह

मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको चैत १३ गतेदेखि यता सो हटलाइनमार्फत १३ हजार ८८ वटा गुनासाहरू सम्बोधन भइसकेका छन् ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय र मातहतका निकायमा काम गर्दा कसैले अतिरिक्त रकम मागेमा प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा जानकारी दिन सेवाग्राहीलाई आग्रह गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सुशासनलाई प्राथमिकता दिँदै भ्रष्टाचार तथा अनियमितताविरुद्ध सक्रिय बनेका मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।  

विद्युत् सेवासम्बन्धी समस्या सुन्न सञ्चालनमा रहेको हटलाइन ११५१ लाई अहिले थप प्रभावकारी बनाइएको छ। मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको चैत १३ गतेदेखि यता सो हटलाइनमार्फत १३ हजार ८८ वटा गुनासाहरू सम्बोधन भइसकेका छन् । प्राप्त गुनासाहरूमा खासगरी बिजुली काटिने (नो लाइट), ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटरको अभाव र भूमिगत विद्युत् जडान जस्ता विषय धेरै छन् । यस्ता समस्या समाधान गरी सेवाग्राहीलाई सहज वातावरण बनाउन मन्त्रालय केन्द्रित भएको जनाइएको छ ।

संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले शून्य तथा विशेष समयमा उठाउने ऊर्जा र सिँचाइ क्षेत्रका समस्यालाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ। सुशासन र सेवामा सुधार ल्याउन मन्त्रालयले ‘सुशासन एकाइ’ समेत गठन गरेको छ ।

सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ अनुसार गठन भएको यो एकाइले अनुगमन, मूल्यांकन र कार्यसम्पादन परीक्षणलाई व्यवस्थित बनाउने काम गरिरहेको छ ।

उक्त एकाइले कर्मचारीको कार्यसम्पादन, कानुनी समयसीमाको पालना र सेवा प्रवाहको अवस्थाबारे नियमित समीक्षा गर्ने गरेको छ ।

सरकारी स्रोत-साधनको उपयोग र तोकिएको काम समयमै भए-नभएको बारे पनि निरन्तर निगरानी राखिएको छ। मन्त्रालयले अहिले ‘डेलिभरीमा आधारित शासन प्रणाली’ लाई मुख्य आधार बनाएर कर्मचारीको उत्तरदायित्व बढाउन जोड दिएको छ ।