तीन महिनामा अप्पर तामाकोशीले कमायो १ अर्ब ६५ करोड नाफा

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

काठमाडौं । अप्पर तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १.१२ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफामा सामान्य गिरावट आए पनि कम्पनीको विद्युत् बिक्री आम्दानी भने बढेको छ । असोज मसान्तसम्म विद्युत् बिक्रीबाट ३ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८५ करोड ५१ लाख ४९ हजार रुपैयाँ थियो । यसअनुसार विद्युत् बिक्री आम्दानी २.२८ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ । तर, वित्तीय खर्च बढेका कारण खुद नाफामा दबाब परेको देखिन्छ । कम्पनीको वित्तीय खर्च १ अर्ब ४ करोड ५९ लाख रुपैयाँबाट बढेर १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । सञ्चित नोक्सानी भने घटेर १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्म यस्तो नोक्सानी १२ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ थियो ।

पहिलो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा रहेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा र नेटवर्थ ५३ रुपैयाँ २५ पैसा थियो । त्यस्तै, प्रतिसेयर सम्पत्तिको मूल्य ३८३ रुपैयाँ ९९ पैसा र तरलता अनुपात १.८४ गुणा रहेको छ ।

४५६ मेगावाट क्षमताको अप्पर तामाकोशी आयोजना हाल पूर्ण क्षमतामा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । असोज मसान्तसम्म नेपाल सरकारको नवौँ अर्धवार्षिक किस्ता तथा अन्य ऋणदाता संस्थाहरूको १९औँ त्रैमासिक किस्ता र ब्याज भुक्तानी गरिसकिएको छ ।

कम्पनीका अनुसार ऋणदाता बैंक तथा वित्तीय संस्थासँगको छलफलपछि गत आर्थिक वर्षको साउनदेखि दीर्घकालीन ऋणको ब्याजदर घटाएर स्थिर बनाइएको छ । यसबाट आगामी दिनमा ब्याज खर्च कम भई कम्पनीको वित्तीय अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

यसैगरी, २०८१ असोज १२ गतेको पहिरोबाट क्षति पुगेका संरचनाको मर्मत तथा पहिरो नियन्त्रणसम्बन्धी अधिकांश काम सम्पन्न भएका छन् । ड्याम अपरेसन कन्ट्रोल बिल्डिङ निर्माणका लागि खरिद प्रक्रिया पनि अघि बढाइएको कम्पनीले जनाएको छ ।

पहिरोबाट आयोजनाका संरचना तथा विद्युत् बिक्री आम्दानीमा भएको क्षतिबापतको बीमा दाबी रकम भने कम्पनीले अझै प्राप्त गर्न सकेको छैन ।