निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल, दुई दसकदेखी बीमा क्षेत्रमा सक्रिय

साधारण सभाले उपाध्यक्ष आजाद श्रेष्ठ (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिव महेन्द्रकृष्ण श्रेष्ठ (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) र कोषाध्यक्ष रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स) निर्वाचित गरेको छ ।

काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुल निर्वाचित भएका छन् ।

संघको सोमबार सम्पन्न नवौं र दशौं वार्षिक साधारण सभाबाट मुल अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उपाध्यक्ष रहेका मुलले आगामी २ वर्ष संघको नेतृत्व सम्हाल्ने छन् ।

निर्जीवन बीमा क्षेक्रमा दुई दशकदेखी त्रियासिल मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण स्वर्णपदकधारी (गोल्ड मेडलिस्ट) हुन् । नेपाल कागज व्यवसायी संघ, नेपाल टेनिस संघको समेत अध्यक्ष रहेका मुल नेपाल च्याम्बर अफ कमर्शका कार्यकारी सदस्य छन् ।

त्यसैगरी साधारण सभाले उपाध्यक्ष आजाद श्रेष्ठ (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिव महेन्द्रकृष्ण श्रेष्ठ (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) र कोषाध्यक्ष रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स) निर्वाचित गरेको छ । सदस्यहरूमा कुनाल कयाल (अध्यक्ष, सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सञ्चालक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) छन् ।