भदौ २३ र २४ को घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियोः ओली
संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् । अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरेका हुन् ।
संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ ।
उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उनको भनाइ छ । अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूकाविरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गरे ।
उनले भने, ‘गत भाद्र २३ र २४ गतेको घटनालाई कसैले आन्दोलन भन्छन्, कसैले क्रान्ति । गर्नेहरूले त क्रान्ति भन्ने नै भए । युवाहरू तथा नवयुवाहरूको हत्याको प्रपञ्च गराउने क्रियाकलापलाई पनि उनीहरूले क्रान्ति भन्ने नै भए । तर त्यो एउटा षड्यन्त्रपूर्ण, पूर्वनियोजित घटना थियो । यो मेरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा भाद्र २३ र २४ गतेको घटना पूर्वनियोजित, पहिल्यै षड्यन्त्र गरिएको तथा प्रायोजित घटना थियो भन्ने कुरा उल्लेख गरिएको छ । त्यो यथार्थ हो । त्यो षड्यन्त्र हाम्रा विरुद्ध त थियो नै । हामी संवैधानिक र लोकतान्त्रिक हिसावले बलियो अवस्थामा थियौँ । हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौँ र त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो। त्यस सरकारलाई संवैधानिक, कानूनी तथा संसदीय बाटोबाट अनेक पटक ढाल्ने र ध्वस्त पार्ने प्रयास गरियो । तर त्यो सम्भव भएन । सम्भव नभएपछि अवैधानिक र आपराधिक मार्गबाट सरकारलाई विस्थापन गर्ने षड्यन्त्र भयो ।’
आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र दोष भने अरूलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सो घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गरे ।