नेप्सेमा २२.२१ अंकको सुधार, परिसूचक २७७७ विन्दुमा पुग्दा कारोबार रकम भने घट्यो

सोमबार गिरावट देखिएको बजार आज सुधार हुँदै २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको हो । विशेषगरी वित्त उपसमूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ, जसको परिसूचक ६.०३ प्रतिशतले बढेको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । सोमबार गिरावट देखिएको बजार आज सुधार हुँदै २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक बढेको छ ।

बजारमा १३ उपसमूहमध्ये १२ उपसमूह हरियालीमा रहे भने एक उपसमूह सामान्य घटेको छ । विशेषगरी वित्त उपसमूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ, जसको परिसूचक ६.०३ प्रतिशतले बढेको छ । अन्य उपसमूह पनि बढेका छन्, जसमा व्यापार र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह भने सामान्य घटेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम घटेको छ । आज ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सोमबार ५ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज कालिन्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य साढे १० प्रतिशत बढेको छ । यस दिन मूल्य घटेर स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे २६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज १८४ कम्पनीको मूल्य बढ्यो भने ७७ को घट्यो । १० कम्पनीको मूल्य स्थिर रह्यो ।