कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ मंसिर १० देखि खुल्दै
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि निष्काशन गर्नेछ ।
काठमाडौँ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि निष्काशन गर्नेछ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ ।
आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्काशन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने समय तोकिएको छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन अवधि मंसिर २४ गतेसम्म थप हुनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा वा मेरो सेयरमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।