ओमोडा ई-५ प्रो सार्वजनिक, पहिलो ५० जना ग्राहकहरूले ४९ लाख ९९ हजारमै पाउने

५०.७ किलोवाट आवर को ब्याट्री क्षमता, ९९ किलोवाट को इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको यस गाडीले एक पटकको फुल चार्जमा ३५० किलोमिटरको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ ।

काठमाडौँ । एसपीजी अटोमोबाइल्सले ओमोडा एन्ड जेकुको बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी 'नयाँ ओमोडा ई-५ प्रो' (Omoda E5 Pro) नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालमा यसअघि नै १५ सयभन्दा बढी युनिट गुडिसकेको ओमोडा ई-५ को बजार सफलतालाई निरन्तरता दिँदै कम्पनीले थप अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र उत्कृष्ट ड्राइभिङ अनुभवसहित यो नयाँ संस्करण बजारमा ल्याएको हो । ५०.७ किलोवाट आवर को ब्याट्री क्षमता, ९९ किलोवाट को इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको यस गाडीले एक पटकको फुल चार्जमा ३५० किलोमिटरको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ । नेपाली सडकको अवस्थालाई लक्षित गर्दै यसमा १९१ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र १८ इन्चको अलोय ह्विल समावेश गरिएको छ।

यसको बाहिरी बनावट 'फ्युचरिस्टिक' डिजाइन दर्शनमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया र विशेष फ्यान्टम विङ टेललाइटहरू जडान गरिएका छन् । गाडीको भित्री भागमा प्रिमियम केबिन, इलेक्ट्रिक सनरुफ, ड्राइभर मसाज सिट, ८ वटा सोनी स्पिकरको इमर्सिभ अडियो सिस्टम र १५.६ इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्लेले यात्रालाई थप आरामदायी बनाउँछन्। सुरक्षाका दृष्टिले यस एसयूभीमा १९ भन्दा बढी एडास सुविधाहरू र ५४० डिग्रीको सराउन्ड भ्यू क्यामेरा प्रणाली उपलब्ध छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।

कम्पनीले ओमोडा ई-५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। गाडी सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले पहिलो ५० जना ग्राहकहरूका लागि ४९ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्य तोक्नुका साथै एक वर्षको 'अटो प्लस इन्स्योरेन्स' समेत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यो नयाँ गाडी अहिले देशभरका आधिकारिक ओमोडा एन्ड जेकु शोरूमहरूमा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भइसकेको छ।