बजेट नजिकिँदा सेयर बजारमा उत्साह, नेप्से २७ अंकले उकालो लाग्दा ५ अर्ब ९८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ । आज ५ अर्ब ९८ करोड ६४ लाख रुपैँया बराबरको सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा सेयर बजारमा सुधार देखिन थालेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबारदेखि नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि देखिएपछि लगानीकर्तामा आशावादी भएको संकेत देखिएको हो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूह मात्रै घटेको छ । आज जलविद्युत उपसमूह सर्वाधिक १.५० प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यद्यपि, म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।

 नेप्से सँगै आज कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ९८ करोड ६४ लाख रुपैँया बराबरको सेयर खरिदबिक्री भएको छ । गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । 

सोमबार थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको बुंगल हाइड्रोको सेयरमूल्य यस दिन सर्वाधिक १०.३२ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६० करोड २० लाख १४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज २३५ कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।