सेयर बजारमा १६ अंकको सुधार, ४ अर्ब ४९ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ ।
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकमा शुक्रबार दोहोरो अङ्कको सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से बढ्दा कारोबार रकम पनि वृद्धि भएको छ । आज ४ अर्ब ४९ करोड ८५ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ इनर्जीको मूल्य ९.६४ प्रतिशत र आँखुखोला जलविद्युतको मूल्य ६.९३ प्रतिशतले वृद्धि भएको छ । आज मूल्य धेरै गुमाउनेमा म्युचुअल फन्ड र डिबेन्चर अगाडि रहे ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ४३ करोड ६५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, रिडी हाइड्रोपावर २४ करोड ५४ लाख र नेसनल हाइड्रो १६ करोड १३ लाख कारोबार सहित अगाडि देखिएका छन् ।
आज हाइड्रो समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढ्दा ट्रेडिङ बाहेक अरू सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूह भने ०.४२ प्रतिशतले घटेको छ ।
आजको बजारमा २०२ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।