कालंगा हाइड्रोको आईपीओ खुल्यो, २० हजार कित्तासम्म आवेदन दिन सकिने
कालंगाको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । निष्काशन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २२ गते हुनेछ ।
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज (जेठ ८ गते) देखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ खुला गरेको हो ।
कम्पनीले दोस्रो चरणमा २८ करोड ७० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार किक्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई वित्री खुला गरेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमा १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्री गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता कर्मचारीहरुका लागि पनि बाँडफाँट गरिसकेको छ ।
कालंगाको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । निष्काशन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २२ गते हुनेछ । लगानीकर्ताले सि आस्बा प्रणाली र ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सकिन्छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिमको संकेत गर्छ । कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँ ३ पैसा र प्रतिमेगावाट लागत २८ करोड ३० लाख ६२ हजार १२० रुपैयाँ ६८ पैसा छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष छ । २०७९ माघ २७ गतेदेखि व्यवसायी उत्पादन गरिरहेको आयोजनाको विद्युत अनुमतिपत्रको अवधि २५ वर्ष १ महिना बाँकी छ ।