१२ अंकले घट्यो सेयर बजार, ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३६ अंक घटेर २७४२.११ विन्दुमा झरेको छ । आज ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ ।
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३६ अंक घटेर २७४२.११ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ । नेप्से घटेपनि बिहिबार कारोबार रकम भने सामान्य बढेको छ । आज ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
बुंगल हाइड्रोपावरको मूल्य आज सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो । मूल्य धेरै बढ्नेमा आज बैंक तथा वित्तीय संस्थाका डिबेन्चर अगाडि रहे । अपर लोहोरेखोलाको मूल्य १४.९५ प्रतिशत घट्यो । त्यस्तै झापा इनर्जीको ८.१२, माउन्टेन हाइड्रो नेपालको ७.४० तथा सिटी होटलको मूल्य ३.८० प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा बिहिबार आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ७२ कम्पनीको मूल्य बढ्यो भने १८८ को घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।