ट्याक्सीको ‘कालो प्लेट’ वितरणमा १५ लाखको चलखेल र बाँदर नियन्त्रणका लागि अनुसन्धानको माग
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दाबी गरे ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सीको ‘कालो प्लेट’ (नम्बर प्लेट) वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको बताएका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दाबी गरे । सांसद पुनले सरकारले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको बताएका हुन् । यस विषयमा आफूले यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरेको र यसमा प्रदेश सरकारदेखि विभागसम्मको मिलेमतो हुनसक्ने आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी खारेज गर्न माग गरे ।
एउटा ट्याक्सी चालकले १५ लाख रुपैयाँ उठाउन मात्रै करिब २५ महिना लाग्ने भन्दै उनले यस्तो व्यवस्थाले निम्न वर्गका श्रमिकको परिवार पाल्न कठिन भएको उल्लेख गरे । यसैगरी, सांसद पुनले मुलुकभर टाउको दुखाइको विषय बनेको ‘बाँदर आतङ्क’ नियन्त्रणका लागि केवल संसद्मा आवाज उठाएर मात्र समाधान नहुने धारणा राखे । उनले यसका लागि ठोस अनुसन्धान र प्रविधिको आवश्यकता रहेकोमा जोड दिए।
सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि एउटा विज्ञ टोली गठन गर्न लागेको जानकारी पाउँदा आफू उत्साहित भएको बताउँदै उनले उक्त टोलीमा रहेर काम गर्न आफू इच्छुक रहेको समेत जानकारी गराए । बाँदर निकै बुद्धिमान जनावर भएकाले यसको व्यवहार र नियन्त्रणका उपायबारे गहन वैज्ञानिक अनुसन्धान विना समस्या समाधान नहुने उनको तर्क थियो ।