दुई दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ३ अर्ब ८२ माथि
आज नेप्से परिसूचक ३०.०८ अंक बढेर २७५४.४८ विन्दुमा पुगेको छ । आज ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्रि भएको छ ।
काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्से, बुधबार भने बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०८ अंक बढेर २७५४.४८ विन्दुमा पुगेको छ । त्यस्तै, बुधबार सेन्सेटिभ इण्डेक्स ३.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ ।
१३ वटै उपसमूह सूचकहरू हरियो देखिएका छन् । जसमध्ये होटल तथा पर्यटन र जलविद्युत समूह १.८९ प्रतिशतले सबैभन्दा बढी बढेका छन् । वित्त, लगानी, उत्पादन तथा प्रशोधन, अन्य तथा व्यापार समूहहरू पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्रि भएको छ । मंगलबार भने ३ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको सेयरमूल्य साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १३.२६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १८ करोड ३५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज २४८ कम्पनीको मूल्य बढेको छ भने २१ को घटेको छ । त्यस्तै १ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।